+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पथरीमै अब CTEVT मान्यता प्राप्त सौन्दर्य तालिम, ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ सञ्चालनमा

नमस्ते पूर्व
२०८३ श्रावण २६, मंगलवार ०६:१८
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका -१ स्थित फिल्महल लाइनमा सिटिईभिटी (CTEVT) बाट सम्बन्धन प्राप्त सौन्दर्य प्रशिक्षण केन्द्र ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ सञ्चालनमा आएको छ। झण्डै एक दशक बढीदेखि सौन्दर्य व्यवसायमा सक्रिय उर्लाबारीकी रेखा बस्नेतले एकेडेमी सञ्चालनमा ल्याउनुभएको हो ।
आज (पुस २५ गते सोमबार) आयोजित एक कार्यक्रमका बीच पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देविमाया काफ्लेले रिबन काटेर एकेडेमीको उद्घाटन गर्नुभयो। उद्घाटनसँगै ‘क्युट कट पार्लर’ स्थापनाको सातौँ वर्ष पुगेको अवसरमा केक काटेर वार्षिकोत्सव समेत मनाइएको थियो।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख काफ्लेले पथरीमै सिटिईभिटीबाट सम्बन्धन प्राप्त सौन्दर्य तालिम केन्द्र सञ्चालनमा आउनु स्थानीय युवायुवतीका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले सीपमूलक तालिमले युवालाई स्वरोजगार बन्न तथा वैदेशिक रोजगारीमा जानेहरूलाई समेत दक्ष बनाउन सहयोग पुग्ने बताउँदै एकेडेमीको
सफलताको शुभकामना दिनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि पथरी शनिश्चरे नगरपालिका वडा नं १ का वडाध्यक्ष भीम राईले सौन्दर्य व्यवसाय पछिल्लो समय रोजगारी र स्वरोजगारको राम्रो माध्यम बन्दै गएको बताउनुभयो। उहाँले स्थानीय स्तरमै गुणस्तरीय र प्रमाणपत्र प्राप्त गर्न सकिने तालिमको व्यवस्था हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै एकेडेमीको सफलताको शुभकामना दिनुभयो।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा नं ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत), पथरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दिपक बस्नेत लगायतको उपस्थिति रहेको थियो।
एकेडेमीकी सञ्चालिका रेखा बस्नेतले आफू सात वर्षअघि पथरीमा पार्लर व्यवसाय सुरु गरेर निरन्तर सौन्दर्य क्षेत्रमा सक्रिय रहेको बताउनुभयो। उहाँले यसअघि ‘द ब्युटी वर्ल्ड’ र ‘क्युट कट पार्लर’ सञ्चालन गर्दै आउनुभएको थियो।
बस्नेतका अनुसार एकेडेमीमा बेसिक तथा एड्भान्स ब्युटिसियन कोर्स सञ्चालन हुनेछ। साथै वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई लक्षित गरी शौन्दर्य सम्बन्धि विभिन्न तालिम र कोर्सहरु समेत सञ्चालन गरिनेछ।
उहाँले अब पथरीमै सिटिईभिटीको लेभल–१ र लेभल–२ को तयारी कक्षा तथा सीप परीक्षण (Skill Test) समेत सञ्चालन गर्न पहल गरिने जानकारी दिनुभयो। स्थानीय युवायुवतीलाई सौन्दर्यसम्बन्धी दक्षता प्रदान गर्दै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ।
“पथरीमै गुणस्तरीय र मान्यता प्राप्त सौन्दर्यसम्बन्धी शिक्षा तथा तालिम उपलब्ध गराउने हाम्रो उद्देश्य हो,” सञ्चालिका बस्नेतले भन्नुभयो, “स्थानीय युवायुवतीलाई सीप सिकाएर स्वदेशमै स्वरोजगार बन्न तथा वैदेशिक रोजगारीमा जानेहरूलाई दक्ष बनाउन एकेडेमीले महत्वपूर्ण भूमिका खेल्नेछ।”
एकेडेमीले सौन्दर्य व्यवसायमा रुचि राख्ने तथा यस क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न चाहनेहरूका लागि विभिन्न तहका तालिम सञ्चालन गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

नमस्ते पूर्व

ट्रेन्डिङ