जनचेतनाको कमीले गर्दा मेनपावरसँग सिधा सम्पर्क नहुन सक्दछ । यस्तो अवस्थामा एजेन्टको मात्र भर पर्नु हुँदैन । कुन देश जाने हो ? कति तलबमा जाने हो ? लागत खर्च कति लाग्छ ? कुन मेनपावरबाट जाँदैछु ? आदि कुराहरू बुझेर जानुपर्छ । लागत खर्च र आम्दानीको बारेमा राम्ररी बुझ्नु पर्दछ । विदेश जाँदा लाग्ने रकम कुनै व्यक्तिलाई नबुझाई मेनपावरको कार्यालयको लेखा शाखामा बुझाउनु पर्दछ । जसलाई होस् जति पैसा बुझाएको होस् भरपाई अनिवार्य रुपमा लिनुपर्छ । मेनपावरबाट उड्नु अघि साथमा लिएर जाने कागजातको एक प्रति फोटोकपी अनिवार्य रुपमा घर परिवारलाई छोडेर जानु पर्दछ । सो सम्भव नभए विदेश पुगेर भएपनि घर परिवारलाई पठाइ दिनु पर्दछ । आकर्षक देशमा आकर्षक तलबमा काम लगाइ दिने प्रलोभनमा पारी गैर कानूनी व्यक्तिले तपाईसँग पैसा असुल्न सक्दछन् । यसबाट सजग हुनु होस् । विदेश उड्नुअघि आफ्नो करारपत्र बारे राम्रो जानकारी राख्नु होला अन्यथा भने बमोजिमको सुविधा पाउनबाट बञ्चित हुनुपर्छ ।
रोजगारदाता देशमा पुगेपछि पनि ठगीमा पर्न सकिन्छ, ध्यान दिनुहोस् एयरपोर्टमा तपाईलाई लिन आउने व्यक्ति तपाई जाने कम्पनीको हो होइन ? अन्य व्यक्तिले पनि तपाईलाई पिकअप गरी अरु नै कम्पनीमा लगी काम लगाउन सक्छन् । यस्तो बेला तपाईं गैर कानूनी कामदार हुनु हुनेछ । रोजगारदाताको देशमा धेरै वर्षदेखि बसेकास्वदेशी वा विदेशी रैथाने व्यक्तिले तपाईंलाई बढी कमाइ हुने कम्पनीमा काम लगाइ दिने भनी तपाईंसँग पैसा असुल गर्न सक्दछन् । जुवा, तास, लागु औषध, लागु पदार्थ, लंगुरबुर्जा खेल्ने जस्ता गैरकानूनी कार्यमा आर्थिक लोभ देखाई नेपाली वा विदेशीले तपाइँ लाइ प्रयोग गर्न सक्छन्, तपाईंको पैसा लुटाउन सक्छन, सतर्क हुनुहोस् । यस्तो कार्य गरे जेल सजाय हुन्छ । थोरै रकम बुझाएर धेरै रकम कमाईन्छ भनी विभिन्न प्रकारले लोभ देखाउँछन् । त्यस्तो कार्य गलत हो, त्यस्ताका लहैलहैमा लाग्नु हुँदैन ।
कार्यस्थल वा कोठामा आई थोरै रकममा धेरै रकम स्वदेशका आफन्तलाई पु¥याइ दिन्छु भनी हुन्डीबाट पैसा पठाउनेहरू मार्फत कहिल्यै रकम पठाउनु हुँदैन, बैंकमार्फत सुरक्षित तवरले पठाउनु पर्दछ । तपाईंसँग भएको पैसा घर पठाइ दिन्छु भनी ठगी गर्न सक्दछन् वा सापटी लिएर नतिर्न वा भाग्न सक्दछन्, त्यसैले जो कोहीलाई सजिलै विश्वास गर्नु हुँदैन । आफ्नो कार्यक्षेत्र बाहिर रहेर भिसाको किनबेच गर्नुहुँदैन । त्यहाँका रैथानेहरूले वा अरू कसैले तपाईंलाई अफर गर्न सक्छन् । होसियार हुनुहोस्, आफन्तलाई भिसा किनी पठाउने कुरामा सजग हुनुपर्दछ ।