+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पेगोडा मोडल सेकेन्डरी इङ्लिस स्कुलद्वारा नगद पुरस्कार

नमस्ते पूर्व
२०८३ श्रावण २६, मंगलवार ०६:३१
पथरी  शनिश्चरे नगरपालिका – ३ स्थित श्री पेगोडा मोडल सेकेन्डरी इङ्लिस स्कुलले यस वर्षको प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरेको छ ।
सोमबार विद्यालय परिसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा हालै सम्पन्न प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद सहित पुरस्कार प्रदान गरिएको हो । कक्षा १ देखि १० सम्म अध्ययनरत ४ जीपीए हासिल गर्ने १९ जना विद्यार्थीलाई जनही ५ हजार रुपैया नगद सहित मेडल प्रदान गरिएको हो । त्यसैगरी नर्सरी, एलकेजी, युकेजी तथा अन्य कक्षामा ३.९५ भन्दा बढी र ४ भन्दा कम जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई पनि प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिएको छ ।
वडा नं. ३ का कार्यवाहक अध्यक्ष चन्द्र चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद कोइरालाले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्नु विद्यालयको नियमित शैक्षिक संस्कार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीलाई केवल परीक्षामा राम्रो अंक ल्याउने मात्र होइन, अनुशासित, सिर्जनशील, आत्मविश्वासी र जिम्मेवार नागरिकका रूपमा विकास गर्नु हाम्रो लक्ष्य हो। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्दा अन्य विद्यार्थीमा पनि सकारात्मक प्रतिस्पर्धा र अझ राम्रो गर्ने प्रेरणा मिल्छ। आगामी दिनमा पनि विद्यालयले गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण पद्धति र अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकतामा राखेर अघि बढ्नेछ।”
विद्यालयका निर्देशक गोविन्द ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम शिक्षक इन्द्र गौतमले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वि.सं. २०५५ सालमा स्थापना भएको यस विद्यालयले २०६६ सालदेखि निरन्तर एसईई परीक्षामा शतप्रतिशत उत्तीर्णसहित नगरमै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। त्यस्तै आधारभूत तह (कक्षा ५ र ८) का परीक्षामा पनि विद्यालयले निरन्तर शतप्रतिशत उत्तीर्णसहित उत्कृष्ट उपलब्धि हासिल गर्दै आएको छ ।
विद्यालयका शिक्षक इन्द्र गौतमका अनुसार विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै विद्यालयमा विधागत शिक्षकहरुको माध्यमबाट संगीत, नृत्य र चित्रकलाका छुट्टाछुट्टै कक्षा सञ्चालन भइरहेका छन्। कक्षा ४ देखि नै सुविधासम्पन्न कम्प्युटर प्रयोगशालामार्फत कम्प्युटर विज्ञानको नियमित अध्यापन गरिँदै आएको उहाँले जानकारी दिनुभयो।
नगरपालिकाको शिक्षा ऐनअनुसार विद्यालयले योग्य तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति पनि उपलब्ध गराउँदै आएको छ। साथै निकट भविष्यमा कक्षा ११ र १२ सञ्चालन गर्ने तयारीसमेत भइरहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नमस्ते पूर्व

ट्रेन्डिङ